वि.सं. १९७० तिर भूतपूर्व प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाका बुवा स्वर्गीय कृष्ण प्रसाद कोइराला तत्कालिन सप्तरी जिल्लाको चन्द्रगञ्ज (माडर) भन्सार कार्यालयको प्रमुख हुनुहुन्थ्यो । वहााले यस क्षेत्रमा शिक्षण संस्थाहरु नभएकोले शिक्षण संस्थाको आवश्यक्ता महसुस गरी तत्कालिन सप्तरी जिल्लाका बडाहाकिम -प्रमुख जिल्ला अधिकारी) मणिकलाल संग परामर्श गरी सिरहामा एउटा पाठशाला स्थापना गर्न पहल गर्नु भयो । यस पश्चात सिरहाका तत्कालिन बुद्धिजीवी, समाजसेवी साथै सर्वसाधारणको समेत भेला (बैठक) बोलाई विद्यालय सञ्चालनार्थ चन्दास्वरुप जग्गा उपलब्ध गराईयो । सोही जग्गाको आम्दानीबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरियो । विद्यालयको नामको सम्बन्धमा स्वीकृतिको लागि सरल हुने हेतुले तत्कालिन श्री ३ चन्द्र शमशेर जवरा, विद्यालय स्थापनार्थ मुख्य भूमिका निर्वाह गर्नु हुने तत्कालिन सप्तरी जिल्लाका बडाहाकिम मणिकलाल र विद्यालय स्थापनार्थ सर्वप्रमुख भूमिका निर्वाह गर्नु हुने कृष्ण प्रसाद कोइरालाको संयुक्त नामबाट “श्री चन्द्र मणिक कृष्ण पाठशाला” नामकरण गरिएको थियो । यस पश्चात विद्यालय स्वीकृतिका लागि वि.सं. १९७१ पठाईयो तर कृष्ण शब्द हटाई “चन्द्र मणिक पाठशाला” को नामबाट बिद्यालय स्वीकृत भयो । वि.सं. २००० पूर्व नै पुनः मणिक शब्द पनि हटाई यस विद्यालयको नाम “चन्द्र पाठशाला” राखियो।
स्वीकृत भए पश्चात तत्कालिन चन्द्रगञ्जबाट सारस्वर जाने बाटोको पूर्वी भागमा राजगुरु हर्कराजबाट ००-१०-०० (दश कटठा) जग्गामा काचो ईटाको गाह्रो र फुसको छानो भएको तीन कोठे भवन बनाई त्यस स्थानमा विद्यालय सञ्चालन गरियो ।
यस विद्यालयमा सरकारी स्तरवाट तलव भत्ता खान पाउने गरी पहिलो शिक्षकको रुपमा पदमनाथ उपाध्याय नियुक्त हुनु भएको थियो । शिक्षाको प्रचार प्रसार नभएको यस क्षेत्रमा तराईका मध्य भागको बृहत क्षेत्र नेपालको दक्षिणी सिमाना लगायत भारतवाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउाथे ।
चन्द्रशमशेरको पालामा उपत्यका बाहिर खुलेको विद्यालय मध्ये एक हुनुको साथै वि.सं. १९७२ मा स्थापित उपत्यका बाहिरको पहिलो ऐतिहासिक अङ्ग्रेजी विद्यालयको रुपमा समेत यस विद्यालयको नाम अग्र स्थानमा रहेको छ । स्थानीय व्यक्तिहरुको सहयोग र चन्दास्वरुप प्राप्त जग्गाको आयस्तरवाट सञ्चालित यस विद्यालयले स्वर्गीय मित्रलाल गिरी (भु.पु.सांसद प्रदिप गिरीको बुवा) को सहयोग र प्रयासवाट माध्यमिक विद्यालयको रुपमा वि.सं. २००८ सालमा स्वीकृति प्राप्त गर्यो । यसको तीन बर्ष पछि वि.सं. २०१० मा प्रवेशिका परीक्षामा सामेल हुने अवसर प्राप्त गर्यो । त्यस परीक्षामा सामेल भएका विद्यार्थीहरु मध्ये दुई जना द्वितीय श्रेणीमा उत्तीर्ण भए ।
वि.सं. २०१० देखि हाल सम्म प्रत्येक बर्षको प्रवेश परीक्षामा यस विद्यालयका विद्यार्थीहरु सम्मिलित भई उच्चतम अङक ल्याई उत्तीर्ण भई रहेका छन । यसै विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण भएका छात्रछात्राहरु राष्ट्रकै अति सम्मानित वहदामा पुग्न सफल भएका छन । त्यसको नमुनाको रुपमा पूर्व आई.जी.पी. श्री रामप्रसाद श्रेष्ठ र पूर्व प्रधान न्यायाधीश श्री केशव प्रसाद उपाध्याय जस्ता व्यक्तिहरुलाई लिन सकिन्छ । सम्पूर्ण ती सम्मानित वहदामा आसिन व्यक्तित्वहरु आज पनि यस विद्यालयका गौरव हुन । ती विगतका गौरवलाई संस्मरण गराउदै आगतका दिनहरुमा समेत गौरवशाली व्यक्तिहरुको आधारभूमि निर्माण गर्ने कार्यमा विद्यालय प्रयत्नरत छ ।